२३ चैत्र, काठमाण्डौँ (Source: Merolagani): अहिले चौतर्फी रुपमा उठने प्रश्न हो ‘के नेपालमा पनि श्रीलंका र पाकिस्तानको जस्तै आर्थिक संकट आउन लागेको हो ?’ अहिले बाटोघाटो, कार्यालय, चियापसललगायतका ठाउँमा २-४ जना भेट भयो कि एकले अर्कोलाई यही प्रश्न सोध्ने गर्छन् । अहिले जताततै नेपाल, श्रीलंका र पाकिस्तानको अर्थतन्त्रको बारेमा घन्टौ बहस चल्ने गरेको छ । अर्थशास्त्रीहरु पनि यही बिषयलाई लिएर बहसमा उत्रिने गरेका छन् ।
नेपालको अर्थतन्त्र श्रीलंकाजस्तै हुने सम्भावना तत्काल नभएको अर्थविद् डा. चन्द्रमणि अधिकारीले बताए । ‘नेपालको अर्थतन्त्र सम्हाल्न नसक्ने स्थिति अहिलेसम्म छैन् । नेपाल अलिकति चुनौतिपूर्ण मोडमा छ,’ उनले भने, ‘हामी श्रीलंकाको जस्तै अवस्थामा पुगिसकेका छैनौं । नेपालसँग पनि चुनौतिपूर्ण संकेतहरु छन् । तिनलाई संयम भएर अलिकति बिश्लेषण गरेर अगाडि बढनुपर्ने अवस्था भने आएको छ ।’
ध्यान नपुर्याउने, साधन स्रोत राम्रो व्यवस्थापन नगर्ने, मितव्ययिता नअपनाउने, लगानी हुने क्षेत्रमा साधन प्रयोग नगर्ने हो भने त अर्थतन्त्र जहिले पनि अप्ठयारोमा पर्न सक्ने चेतावनी पनि अर्थविद् डा. अधिकारीले दिए । ‘अहिले नै श्रीलंका र पाकिस्तान जस्तो भइहाल्यो भनेर मानिसलाई मनौबैज्ञानिक हिसाबले त्रास सिर्जना गर्नु हुँदैन्,’ उनले भने, ‘अहिले नेपालको लागि सबैभन्दा राम्रो पक्ष भारतीय मुद्रासँगको स्थिर बिनिमय दर छ । त्यसले गर्दा हामीलाई अलिकति सहज बनाएको छ ।’
भारतसँगको अलिकति ‘सेटलाइट इकोनोमी’ भएका कारण पनि नेपाल पाकिस्तान अथवा श्रीलंका नै हुन्छ भन्ने स्थिति अहिले नभएको अर्थविद्हरुको तर्क छ । तर, ध्यान पुर्याएनौ भने नेपाल श्रीलंका र पाकिस्तान हुन बेर नलाग्ने तर्क उनीहरुको छ ।
यसरी निम्तियो श्रीलंकामा आर्थिक संकट
अहिले श्रीलंकामा चरम आर्थिक संकट निम्तिएको छ । श्रीलंकाले दशकौं यताकै सबैभन्दा चरम आर्थिक संकट खेप्दै आएको छ । सर्वसाधारण नागरिकहरु आन्दोलनमा उत्रिएका छन् । आर्थिक संकट व्यवस्थापनप्रति असन्तुष्ट सर्वसाधारणहरुको प्रदर्शनकाबीच सबै मन्त्रीहरुले सामूहिक राजीनामा दिएका छन् । प्रधानमन्त्री महिन्द्रा राजपक्ष र उनका दाई राष्ट्रपति गोटाबय राजपक्षले भने राजीनामा गरेका छैनन् ।
सरकारले लगाएको कर्फ्युको अवज्ञा गदै सर्वसाधारणहरुले सडकमा प्रदर्शन गर्दै आएका छन् । श्रीलंका सन १९४८ मा स्वतन्त्र भएयताकै खराब आर्थिक संकटसँग जुझिरहेको छ । श्रीलंकामा आर्थिक संकट विदेशी मुद्राको अभावले गर्दा निम्तिएको हो । सरकारले इन्धन आयातका लागि भुक्तानी गर्ने रकम समेत पाउन सकेको छैन् । आधा दिनको लोडसेडिङ, खाद्यान्न अनि इन्धनको अभावका कारण सर्वसाधारणहरु क्रुद्ध भएका छन् ।
श्रीलंका र नेपालको अर्थतन्त्रको स्वरुपमा फरक
श्रीलंका र नेपालको अर्थतन्त्रको स्वरुप फरक रहेको अर्थविद् डा. अधिकारी बताउँछन् । ‘श्रीलंका र नेपालको अर्थतन्त्रको चरित्र अलिकति बिश्लेषण गर्नुपर्छ,’ उनले भने, ‘त्यो बिश्लेषण गर्दा चरित्र फरक छ । ‘रिर्सोस’ उपयोगको संरचना पनि फरक छ ।’ श्रींलकामा सन् २०१० पछि राजनीति ध्रुविकरण भएर गयो । राजनीतिक नेतृत्वले जुन निर्णय गर्यो त्यसमा केही ढंग नपुर्याएको देखिन्छ । ढंग नपुर्याउँदा रिर्सोसको ‘मिस म्यानेजमेन्ट’ भयो । मिस म्यानेजमेन्ट हुँदा बजेट घाटा बढेर गयो । त्यसलाई पूरा गर्न बैदेशिक ऋण लिन परेको थियो । त्यही ऋणको ब्याज र साँवा तिर्न नसक्दा श्रीलंका थला परेको हो । बैदेशिक ऋण पनि छोटो समयका लागि लियो । त्यो तिर्न नसक्दा समस्यामा फसेको हो ।
श्रीलंकामा कुल ग्राहथ्य उत्पादन (जीडिपी)को ८-९ प्रतिशत कृषिले ओगटेकाे छ । नेपालमा त्यस्तो उत्पादनले अहिले पनि २५-२६ प्रतिशत कृषिले ओगटेकाे छ । कृषि उत्पादनको जीडिपीमा कम योगदान त्यसमा पनि अर्गानिक खेती गर्ने मल प्रयोग नगर्ने भनेपछि कृषि उत्पादन पनि ह्वात्तै घट्न पुगेको अर्थविद् डा. अधिकारीले बताए । ‘श्रीलंकाकाे अर्थतन्त्रमा १६-१७ प्रतिशत पर्यटनले याेगदान गरेकाे छ । महामारीले पर्यटन क्षेत्र खत्तम नै भयो,’ उनले भने, ‘अर्कातिर श्रीलंकालाई छोटो समयका लागि बैंकबाट लिएको ऋण तिर्न गार्हाे भयो ।
धेरैजसो बैदेशिक मुद्रा त्यतातिर गयो ।’ फेरि अलिकति दुरदर्शीता नराख्दा र छोटो अवधिका कमर्शियल टाइपको ऋण लिने र उत्पादनमूलक क्षेत्रमा लगानी गर्न नसक्दाको परिणाम श्रीलंकाले आर्थिक संकट भोग्नु परेको हो । रेमिटयान्स पनि श्रीलंकाको मुख्य आम्दानीको श्रोत हो । त्यसको पनि उपयोग गर्न नसक्दा श्रीलंकाले अहिलेको आर्थिक संकटको स्थितिमा पुगेको हो । नेपालको चरित्र अलिकति फरक छ । श्रीलंकाको अहिले लगभग २ अर्ब मात्रै बैदेशिक मुद्रा सञ्चिति रहेको र अहिले त्यहाँ औषधि, कागज किन्न र खाद्यान्नको संकट देखिएपछि मानिसहरु भारततर्फ पलायन हुने स्थिति आएको छ ।
पाकिस्तानको पनि श्रीलंकाको जस्तै अवस्था
पछिल्लो समय पाकिस्तानको पनि आर्थिक अवस्था नाजुक बन्दै गएको छ । चुलिँदो मूल्यबृद्धि र बढ्दो विदेशी ऋणका कारण त्यहाँको अर्थतन्त्र खस्किँदै गएको छ । पाकिस्तानका प्रधानमन्त्री इमरान खान भ्रष्ट्राचार नियन्त्रण र देशको अर्थतन्त्रको समस्या समाधान गर्ने वाचा सहित सन् २०१८ मा निर्वाचित भएका थिए । पाकिस्तानमा पनि ‘गर्भमेन्स’ कमजोर भएका कारण आर्थिक समस्यामा पर्दै गएको अर्थविद् डा. अधिकारीले बताए ।
‘दक्षिण एशियामा गर्भनन्स चाँहि धेरै कमजोर भएर गयो । भारत निकै ठूलो आर्थिक अवस्था भएको हुनाले त्यति धेरै असर परेको छैन्,’ उनले भने, ‘पाकिस्तानका प्रधानमन्त्रीले जथाभावी गरेको होइन्, गर्न खोजेको हो । मितब्यायिता पनि अपनाउन खोजेको हो । तर, गर्भमेन्स कमजोर भएकाले साधन र स्रोतको बढी चुहावट भएको हुनाले व्यवस्थापन गर्न नसकेको हो ।’ दोस्रो कुरा, अन्तराष्ट्रिय राजनीतिले पनि त्यहाँ काम गरेको अर्थविद् डा.अधिकारीले बताए । ‘अन्तराष्ट्रिय राजनीतिको हस्तक्षेपबाट कुटनीतिक रुपमा हामी पनि बच्नुपर्छ,’ उनले भने, ‘पाकिस्तानको जस्तो पनि अहिले हामी होइनौं ।’
मिस म्यानेजमेन्ट भयो भने नेपाललाई पनि अफ्ठ्याराे पर्ने
मिस म्यानेजमेन्ट भयो भने जुनसुकै बेलामा पनि नेपाललाई अप्ठयारो पर्न सक्ने एक अर्थविद्ले बताए । ‘बैदेशिक मुद्रा खर्च गर्ने सन्दर्भमा अलिकति नियन्त्रण गर्न खोजेका छौं,’ ति अर्थविद्ले भने, ‘त्यतिले मात्रै पुग्दैन् । अलिकति बैदेशिक मुद्रा प्राप्त गर्ने तर्फ ध्यान दिनुपर्छ ।’ विप्रेषणको बिचलनलाई रोक्नका लागि अलिकति प्रोत्साहन दिनुपर्ने अर्थविद्हरुको भनाइ छ । साथसाथै बैदेशिक लगानी राेकिने ‘बोटल नेक’ जहाँ छ त्यहाँ हेर्न सकियो । बैदेशिक मुद्रा आउने बाटो बढाउन अलिकति सक्यो र बैदेशिक सहायतामा खर्च क्षमता बढाएर प्राप्त गर्यो वा ल्याउन सक्यौं भने नेपालको अर्थतन्त्र सुधारोन्मुख तर्फ जाने छ ।
अहिले पनि कृषि क्षेत्र मुख्य क्षेत्र भएको हुनाले नेपालका लागि ठूलो आधार पनि हो । पर्यटन क्षेत्रलाई पनि बढाउन सक्ने ठाउँ छ । अहिले मौद्रिक नीतिको माध्यमबाट मात्रै हामीले सुधार खोजेका छौं । अहिलेसम्म नेपाल राष्ट्रले ल्याएका मौद्रिक नीतिले हेर्दा पनि त्यही देखिएको छ । सोमबार मात्रै पनि राष्ट्र बैंकले गाडीहरु आयात नगर भनेको छ । यो नियन्त्रात्मक भयो । यस्तो कुरा गर्नु पनि पर्छ । तर आर्थिक तथा वित्त नीति मार्फत हस्तक्षेप गरेर बैदेशिक मुद्रा भित्र्याउनेतिर लाग्नुपर्छ ।
खर्च कम गर्नेतिर मात्र होइन कि विदेशी मुद्रा भित्र्याउने तर्फपनि लाग्यो भने हामी अझै श्रीलंकामा नै पुग्ने अवस्थामा पुगिसकेका छैनौं । नेपालसँग पनि चुनौतिपूर्ण संकेतहरु छन् । तीनलाई संयम भएर अलिकति बिश्लेषण गरेर अगाडि लैजानु पर्ने अर्थविद्हरुको तर्क छ ।
विश्वको अर्थतन्त्र नै अनिश्चित
विश्वको अर्थतन्त्रमा नै अनिश्चितता बढेको छ । अनुमान गर्नै नसकिने स्थिति सिर्जना भएको छ । विकसित मुलुक संयुक्त राज्य अमेरिका, बेलायतसमेतका देशहरुमा मानिसको जीवनस्तर खस्केको छ । बेलायतका अर्थमन्त्रीले बजेट भाषणपछि समीक्षा गरेर आउने ‘स्पिङ स्टेटमेन्ट’ हालसालै सार्वजनिक गरेका थिए । विश्वमा १३ लाख मानिसहरु गरिवीको रेखामुनी गए । उनीहरुको जीवन स्तर खस्कियो भनेर भनिएको छ ।
ऊर्जा संकट छ । एकातिर ‘प्रतिवन्ध’ र अर्कोतिर काउन्टर ‘प्रतिवन्ध’ लगाउने काम भइरहेको छ । एकातिर प्रतिबन्ध लगाइएको छ । अर्कोतिर रुसले युरोपलाई तेल र ग्यास लिन्छौ भने रुवलमा किन भनिरहेको छ । यस्तो अनिश्चित छ । मूल्य बढेर गएको छ । अमेरिकी डलरको भाग बढेर गएको छ । तेलको मूल्यमा अनिश्चिता सिर्जना भएको छ । विश्वमा नै अर्थतन्त्र अनिश्चय भएको त्यसको प्रभाव नेपालमा पनि पर्ने स्वभाविकै हो । अमेरिकी ध्रुवकाे प्रभाव कहाँ जाला भन्ने पनि भएको छ । अहिले हेर्ने हो भने भारतले रुसबाट तेल लिन्छु भनेर बार्ता गरिरहेको छ । पाकिस्तानले त ३० वर्षसम्म रुससँग ग्यास लिन्छु भनेर सम्झौता नै गरिसकेको छ । दक्षिण कोरियादेखि जापानसम्मले ग्यास लिन छाडेको छैन् । युरोपले पनि ल्याउन छाडेको छैन् ।
Source Link: Merolagani