२५ वर्षदेखि नेपाली नोट डिजाइन गरिरहेका सुन्दर

RONB Update - Reporter
0
२३ चैत्र, काठमाण्डौँ (Source: Setopati): २०५३ सालमा तत्कालीन राजा वीरेन्द्रको गद्दी आरोहणको २५ औं वार्षिकोत्सवको उपलक्ष्यमा राष्ट्र बैंकले २५ र २ सय ५० का दुई वटा नयाँ नोट निकाल्ने भन्यो। ती नोट सकेसम्म नेपालमै डिजाइन गर्ने भनियो। किनकी त्यसअघिका सबै नोटहरू विदेशमा डिजाइन भएका थिए। नेपालमै नोट डिजाइन गर्ने भनिएपछि राष्ट्र बैंकले नोट डिजाइन गर्ने मान्छेको खोजी गर्न थाल्यो।

त्यहीँ बेला बागबजारका सुन्दर श्रेष्ठ पनि राष्ट्र बैंकमै जागिरे थिए। उनी त्यहाँ डिजाइनको काम गर्थे। डिजाइनसम्बन्धी काम गर्ने भएकाले बैंकले सुन्दरलाई पनि नोट डिजाइन गर्न सक्छौ भनेर सोध्यो। उनले तुरून्तै सक्छु भन्ने जवाफ दिए। त्यसपछि नोट डिजाइन कमिटीले सुन्दरलाई नोटमा के-के कुरा समावेश गर्ने भनेर सुझाव दियो। जसमा नेपाली रैथाने गाई राख्न भनिएको थियो।

25 Barsa Deykhi Nepali Note Design Gariraheyka Sundar

'उहाँहरूले नोटमा कोइली गाई चाहिन्छ भन्नुभयो। मैले हुन्छ भनेर निस्किएँ तर कोइली गाई कस्तो हुन्छ भन्ने थाहा थिएन,' सुन्दरले ऊ बेलाको कुरा सम्झिँदै सेतोपाटीसँग भने, 'गाई खोज्नलाई डेढ महिनासम्म गौचरणहरू घुमें। यतिसम्म कि कसैको घरमा गाई पालेको छ भन्ने सुन्नासाथ गाईको फोटो खिच्नलाई गइहाल्थ्यौं।' सुन्दर त्यसरी खिचेर ल्याएको गाईको फोटोबाट चित्र कोरेर डिजाइन कमिटीलाई देखाउँथे। तर उनले बनाएको चित्र कोइली नभएर जर्सी गाईको हुने गर्थे। तर कमिटीले सुन्दरलाई नोटमा कोइली गाईकै फोटो राख्न भनेको थियो। 'गाईको फोटो खिचेर ल्याएर चित्र बनायो, यो त जर्सी गाई भयो भन्नुहुन्थ्यो। पछि कोइली गाई भनेको दुब्लो-दुब्लो, रातो-रातो सानो हुन्छ भनेपछि बल्लतल्ल सातदोबाटोको खाली चौरमा चरिरहेको गाईको फोटो खिचेर ल्याएर चित्र बनाएँ,' सुन्दरले त्यो बेलाको हैरानी सम्झिँदै भने।

डेढ महिना लगाएर गाईको फोटो जुटेपछि नोटको पूरा डिजाइन तयार गर्न सुन्दरलाई अर्को एक महिना लाग्यो। त्यो बेला अहिलेजस्तो कम्प्युटर र अन्य प्रविधि नभएकाले सबै डिजाइन हातले नै गर्नुपर्दा समय लाग्ने गरेको उनी बताउँछन्। सुन्दरले महिना दिन खर्चेर डिजाइन गरेको नोट छाप्नका लागि जर्मनी पठाउनुपर्ने थियो। डिजाइनमा काम गरेकाले सुन्दरलाई पनि सँगै जर्मनी पठाउने भनियो। जर्मनी जान पाउने कुराले सुन्दर पनि दंग परे। जर्मनी पुगेपछि उनले नोट छाप्ने कम्पनीका डिजाइनरलाई आफूले सम्पूर्ण डिजाइनको काम हातले गरेको सुनाए। त्यो सुनेर उनीहरू छक्क परे। त्योबेला सम्झिँदै सुन्दर भन्छन्, 'त्यहाँ गएर सबै डिजाइन हातले गरेको भन्दा उनीहरूले अचम्म माने। त्यहाँ त नोटको विभिन्न भागको डिजाइन गर्ने मान्छेहरू छुट्टाछुट्टै हुने रहेछ। त्यसैले पनि होला मैले एक्लैले बनाएको भन्दा अचम्म माने।'


सुन्दरले आफ्नो कौशलताबाट प्रभावित भएर उनीहरूले जर्मनीमै बस्न प्रस्ताव गरेको सुनाए। 'तिमी यस्तो काम जानेको मान्छे रैछ अब यतै बस भनेका थिए तर म बस्दिनँ भनेर आएँ,' उनी भन्छन्, 'मलाईचाहिँ हामी नेपालीले जे-जति सीप जानेको छ त्यो नेपालमै खर्चिनुपर्छ भन्ने लाग्छ। म जर्मनीमा बसेको भए दुई-चार पैसा बढी कमाउँथे होला तर जति पैसा भए पनि दुई छाक खाने हो, दुई सरो लगाउने त हो।'

जर्मनीमा काम गर्ने अवसर त्यागेर सुन्दर नेपाल नै फर्किए र बैंककै कामलाई निरन्तरता दिए। सुन्दर नेपाल फर्किएको अर्को वर्षतिर नयाँ दुई वटा नोटहरू जर्मनीबाट आइपुग्यो। आफूले डिजाइन गरेको नोट पहिलो पल्ट हातमा पर्दा सुन्दर पनि दंग परे। 'हाम्रो पालामा एसएलसी पास गर्दा एकदम ठूलो कुरा हुन्थ्यो। आफूले बनाएको नोट हातमा लिन पाउँदा त्यो भन्दा पनि खुसी भएको थिएँ,' खित्का छोड्दै सुन्दरले भने।

नयाँ नोट बजारमा आएपछि किस्सा बेग्लै रहेको सम्झिँदै सुन्दरले त्यो बेला धेरै मानिसहरूले नयाँ नोट लिन नमानेको सुनाए। 'कति जनाले चल्दैन भनेर २५ र २ सय ५० को नोट नै लिन मान्नुभएन। मेरो आमाले पनि त्यो नोट दिनुहुँदा मानिसहरूले चल्दैन भन्नुभयो रे,' उनले भने। नोट डिजाइन गर्ने काम सफल भएपछि राष्ट्र बैंकले नोटको डिजाइनसम्बन्धी सबै काम सुन्दरलाई दिन थाल्यो। अहिले पनि अवकास पाएका सुन्दर एक्ला नोट डिजाइनर हुन्। त्यसैले राष्ट्र बैंकले अहिले पनि नोट डिजाइन गर्नुपरे उनै सुन्दरलाई सम्झिन्छ।

पछिल्लो समय जति पनि नोटहरूमा फेरबदल भएको छ, त्यो सबै काम सुन्दरले गरेका हुन्। जबकी २०५३ सालअघि प्रचलित नोटहरू विदेशमै डिजाइन हुने गर्थे। राष्ट्र बैंकका विदेशी मुद्रा व्यवस्थापन शाखाका पूर्वकार्यकारी निर्देशक कृष्णबहादुर मानन्धर भन्छन्, 'त्यो बेला नोट छाप्ने देशहरूले उतैबाट डिजाइन गरेर पठाइदिने चलन थियो। यहाँबाट यस्तो-यस्तो खालको बनाउनु भनेर भनिन्थ्यो र सोहीअनुसार डिजाइन गरेर पठाइदिने गर्थे।'

अहिले भने नोट डिजाइनका सबै काम सुन्दरले गर्दै आएका छन्। सुन्दर पनि यो काम आफूले गर्न पाएकोमा भाग्यमानी महशुस गर्छन्। यो काम भोलिको इतिहास रहने उल्लेख गर्दै उनी भन्छन्, 'पछि सन्ततिहरूले पनि यो नोट मेरो बुवा, बाजेले बनाएको भन्छन् नि। त्यो सम्झेर यो काम एउटा इतिहास भयो भन्नेचाहिँ लाग्छ।'

Source Link: Setopati
Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.

Please Select Embedded Mode To show the Comment System.*

We uses cookies to enhance your experience. Learn More
Accept !