१० फागुन, काठमाडौं (Source: Merolagani): पछिल्लो समय दुई कम्पनीको संस्थापक शेयर लिलामीमा छन्।आइसिएफसि फाइनान्स र एचआइडिसिएल कम्पनीका संस्थापक शेयर लिलामीमा आएका हुन्। आइसिएफसिले दुई लाख तीन हजार ५८० र एचआइडिसिएलले तीन करोड ३० लाख कित्ता संस्थापक शेयर लिलामी गर्ने भन्दै सूचना निकालेका छन्। दुवैको लिलामीमा कम्तीमा प्रति कित्ता एक सयको दरले आफूले चाहे जति आवेदन गर्न सकिन्छ।
तर लिलामीमा भाग लिन भने उनीहरूले तोकेकै ठाउँमा गएर फारम लिनु पर्छ। छाप नलागेको फारम स्वीकार्य नहुने सूचनामा भनिएको छ। त्यस आधारमा पनि लिलामीमा भाग लिन चाहनेले पहिले फारम लिन उनीहरूले तोकेकै ठाउँमा जानु पर्छ। अर्को तर्फ बुझाउन पनि सोही ठाउँमा जानु पर्छ। लिलामीमा भाग लिनेले आफूले लिन कबोल गरेको मूल्य र कित्ता सहित उसले भनेका कागजपत्र खामबन्दी गरी गोप्य बुझाउनु पर्छ। जसको लागि एचआडिसिएलको फारम लिन लगानीकर्ताले ग्लोबल आइएमइ क्यापिटलको कार्यालय जानु पर्ने छ भने आइसिएफसिको हकमा भने एनएमबि क्यापिटलको कार्यालय पुग्नु पर्छ। उपत्याका बाहिरकालागि उनीहरूकै मातृ कम्पनीमा सम्पर्क गर्नु पर्छ। यस अघि यस्तो व्यवस्था समेत थिएन। काठमाडौँ बाहेकका लगानीकर्ताले बोल कबोलमा सहभागिता जनाउन पाउँदैन थिए। बोलकबोलमा यति बेला मोफसललाई पनि सहुलियत दिइएको छ। तर पछिल्लो समय भने शेयर भर्नेदेखि किनबेच गर्नेसम्म अनलाइन भई सकेको अवस्था छ। तर बोल कबोलमा भने अझै भौतिक नै हुँदा सर्वसाधारणको उपस्थिति असाध्यै न्यून छ।
पछिल्लो समय भएका बोलकबोलमा दुई सय मानिसले सहभागिता जनाउने गरेका छन्। अनलाइन बाटै बोलकबोलमा सहभागिता जनाउने सुविधा दिए अझै धेरै मानिसको सहभागिता बढ्नुको साथै कम्पनीले फेयर प्राइस पाउने थिए भन्ने मान्यता बोलकबोलमा सहभागी हुनेको छ। शेयरमा अनलाइनको युग सुरु भइसक्दा समेत बोलकबोल भौतिक हुनुलाई उनीहरूले निको मानेका छैनन्। नियामकको यसतर्फ ध्यान आकृष्ट हुनै पर्ने उनीहरूको माग छ। “शेयरमा सबै अनलाइन भईसक्यो। तर बोलकबोलमा अझै भौतिक नै छ। यसले गर्दा जान आउन पनि दु:ख,सहभागिता पनि कम,सबैलाई पर्ने नपर्ने पनि टुङ्गो छैन। यसले गर्दा यसमा पनि अनलाइन कै व्यवस्था गरिदिए काइदा हुने थियो। यसमा भर्खरै नियुक्त भएर आएका नेप्से र बोर्ड अध्यक्षको ध्यान जाओस् भन्ने हाम्रो माग छ” लगानीकर्ता गौरीशङ्कर थापाले मेरो लगानीसँग भने।
अन्य मुलुकमा बोलकबोल सबै अनलाइन नै भईसक्यो। सरकारी ठेक्का समेत अनलाइनलाई प्राथमिकतामा राख्न थालिएको छ। किनकि भौतिक हुँदा दबाव पर्न सक्ने भन्दै अनलाइन गरिएको हो। अनलाइन गर्दा पारदर्शी पनि हुन्छ। साथै सजिलो पनि हुन्छ। नेपाल राष्ट्र बैंकले समेत मौद्रिक औजार अनलाइन विधिबाटै गर्ने गर्छ। नेपाल राष्ट्र बैंकको बोलकबोल समेत अनलाइन भई सकेको अवस्थामा उसले शेयरको पनि बोलकबोल गराउन कुनै महाभारत नहुने थापाको जिकिर छ। केही मानिसले मात्रै बोलकबोलमा हालीमुहाली गरी राख्न र यथास्थितिमै रमाउन चाहने प्रवृत्तिको कारण मात्रै बोलकबोलको अनलाइन हुन नसकेको थापाको आरोप छ।
लगानीकर्ताले बोलकबोललाई अनलाइन मार्फत गराउने माग राखे पनि नियामक निकाय र बजार सञ्चालकको यस विषयमा कुनै योजना छैन। अनलाइनबाटै गर्ने भनिए पनि उक्त कार्य कसले गर्ने भन्ने विषय नै अनुत्तरित छ। यस अघि केन्द्रीय निक्षेप प्रणालीले यस विषयमा गर्न सकिने धारणा राखेको भएपनि उसले पनि उक्त विषयलाई अघि बढाएको छैन। खासगरी तत्कालीन समयमा नियामक निकायको ग्रिन सिग्नल नपाएकै कारण उसले उक्त विषय अघि नबढाएको सिडिएससिका पूर्व प्रमुख कार्यकारी अधिकृत देव प्रकाश गुप्ता बताउँछन्। “मैले त्यो काम हामी गर्न सक्छौ भनेर भनेको पनि थिए। तर खासै रुचि भएको देखिएन। मेरो कार्यकाल सकिहाल्यो। अहिले के भएको छ मलाइ थाहा छैन् ” गुप्ताले भने।
Source Link: Merolagani